सुदूरपश्चिमका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, स्वतन्त्र सांसदले गरे मन्त्री पद अस्वीकार

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक ७ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस्तै, एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन । प्रदेश प्रमुख कार्यालयलाई मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस गरेपछि नवनियुक्त मन्त्रीहरुले आजै सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण कार्यक्रम भएको हो । यसअघि स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरिएको चर्चा थियो । तर जोशीले उक्त मन्त्री पद अस्वीकार गरेको बताइएको छ ।

सोमबार ७ जना मन्त्री थप भएसंगै सुदूरपश्चिमको मन्त्रीपरिषद् १० सदस्यीय बनेको छ । आन्तरिक मामिला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने मुख्यमन्त्री सोडारीले आफैँसंग राखेका छन् । सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

यसअघि पनि मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए । तर, सत्तारुढ दल एमालेले तत्काल सरकारमा सहभागी नहुने बताएपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।

सम्बन्धित

Comments are closed.