महेन्द्रनगर। बलात्कार, हत्या, भ्रष्टाचार, देश टुक्राउने गतिविधि तथा क्रूर र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै मृत्युदण्डवादी नागरिक अभियानले मेची–महाकाली हस्ताक्षर अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत कञ्चनपुरका विभिन्न क्षेत्रमा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिएको छ । अभियानमा सहभागीहरूले बलात्कार, हत्या, भ्रष्टाचारलगायतका गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
मृत्युदण्डवादी नागरिक अभियानका राष्ट्रिय संयोजक नुरप्रसाद अधिकारीले बलात्कार, हत्या, भ्रष्टाचारलगायतका जघन्य अपराध नियन्त्रण गर्न नेपालको संविधानमै मृत्युदण्डसम्बन्धी व्यवस्था समावेश गरिनुपर्ने माग अघि सारिएको बताउनुभयो।
उहाँले यस्ता अपराध न्यूनीकरण गर्दै पीडितलाई न्याय दिलाउन र समाजमा कानुनी शासनको प्रत्याभूति गराउन मेची–महाकाली हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।अपराध नियन्त्रण, पीडितलाई न्याय र समाजमा कानुनी शासनको प्रत्याभूति गराउने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको बताएका छन् ।
मेचीदेखि महाकालीसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको अभियानमार्फत नागरिकको हस्ताक्षर संकलन गरी सम्बन्धित निकायसम्म आफ्ना माग पुर्याउने अभियानकर्ताहरूको योजना रहेको छ ।
नेपालको संविधानले मृत्युदण्डको सजाय निषेध गरेको अवस्थामा अभियानले उठाएको यो माग संविधान संशोधन तथा कानुनी व्यवस्थासम्बन्धी बहससँग पनि जोडिएको छ । नेपालको संविधानको धारा १६(२) ले मृत्युदण्ड हुने गरी कुनै कानुन बनाइने छैन भन्ने व्यवस्था गरेको छ।
Comments are closed.