बैतडीमा विरभान हत्या प्रकरणः फरार अटो चालक पनि पक्राउ

महेन्द्रनगर । बैतडीको विरभान हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्।बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह विष्टको हत्याको आरोपमा प्रहरीले पाटन नगरपालिका–६ का करिब २६ वर्षीय आशिष पहरी (पुन्टु) लाई पाटन नगरपालिका–१ समैजी जंगलबाट पक्राउ गरेको हो।

एक बाँझो घरमा लुकीरहेको प्रहरीका अनुसन्धान टिमले देखेपछि उनी जंगल भागेका थिए।भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी थिइन्। पहरी नै ती अटोचालक हुन्। उनलाई यो घटनाको भागरथी पछिको मुख्य योजनाकारका रुपमा स्थानीयले हेरेका छन्।

प्रहरीले यस अघि थप २ जनालाई डडेल्धुराबाट पक्राउ गरेको हो।प्रहरीले घटनापछि भागिरहेका पाटन नगरपालिका–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराईलाई डडेल्धुराको भत्काडाबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले बताए।

यस्तै प्रहरीेले हत्या आरोपमा पाटन नगरपालिका–६ की २६ वर्षीया भागरथी विष्टलाई समेत पक्राउ गरेको छ। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छिन्।

एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्नेको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्।

हत्यापछि आइतवार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी थिइन्। उनले आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ।तर, सोमवार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए। त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो। फरार रहेकाको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए। विष्टको हत्या आरोपमा मृतकका आफन्तले मंगलवार पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.