महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकाका दलित जनप्रतिनिधिहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । द फ्रिडम फन्डको आर्थिक सहयोगमा दलित विकास सेवा केन्द्रले आयोजना गरेको २ दिने तालिम बिहीबार सम्पन्न भएको हो ।
दलित सशक्तीकरण कार्यक्रम अन्तरगत आयोजना गरिएको तालिममा छुवाछुत, विभेद, आरक्षण, मानव अधिकार, पैरवी सम्बन्धी स्थानीय तहका जनप्रतिनिधि सँग छलफल गरिएको थियो ।
तालिममा जातीय छुवाछुतको हालको अवस्था, विकासमा दलित सहभागिता तथा दलित जनप्रतिनिधिको सहभागिता, दलित सवालहरूको पहिचान र योजना तर्जुमा लगायतका विषयमा छलफल गरिएको दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकले बताए ।
तालिममा गोदावरीका १२ वटै वडाका दलित जनप्रतिनिधि सदस्य र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो । तालिमको मङ्गलवार एक कार्यक्रमका बिच सुदूरपश्चिम सरकारका बिना विभागीय मन्त्री हिरा सार्कीले उद्घाटन गरेका थिए ।