महेन्द्रनगर । जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसमको गणनामा हरिहाँसको सङ्ख्या २३२ वटा पुगेको छ ।
चरा संरक्षण नेटवर्कको आयोजनामा घोडाघोडी सिमसार क्षेत्रमा गतहप्ता गरिएको सूचक प्रजातिको गणनामा हरिहाँसको सङ्ख्या २३२ वटा छन् । नेटवर्कका सचिव रामकुमार चौधरीले घोडाघोडी ताल, नकरोडताल, चिडिया ताल लगायतका सिमसार क्षेत्रमा हरिहाँसको गणना गरिएको बताए ।
उनले विगतको तुलनामा हरिहाँसको सङ्ख्या घट्दै गएको उल्लेख गरे । घोडाघोडी ताल सूचक प्रजातिको रूपमा हरिहाँस, मगरगोही र जङ्गली धानलाई आधार मानेर सन् २००३ मा रामसार साइडमा सूचीकृत भएको हो ।
घोडाघोडीमा जाडो र गर्मी मौसममा चरा गणना हुँदै आएको छ । रामसार साइडमा घोडाघोडी ताल सूचीकृत हुँदा हरिहाँसको सङ्ख्या एसियामै भएको सङ्ख्याको एक प्रतिशत अर्थात् एक हजार सङ्ख्यामा रहेको अभिलेख रहेको छ ।