सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको हो।

गए राति १०ः३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्त घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडी सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाईते भएका छन्।

मनोजको महाकाली प्रादेशिक अस्पताल हुँदै नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक बेलौरी नगरपालिका–६ बस्ने २४ वर्षीय रामु रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

उता, कैलालीको टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ स्थित सडक खण्डमा से १ ह १०९५ नम्बरको अटोले सोही ठाउँ बस्ने पैदल यात्री ६५ वर्षीया पटारी चौधरीलाई ठक्कर दिँदा मृत्यु भएको हो। अटोले ठक्कर दिँदा चौधरी गम्भिर घाईते भएकी थिइन्।

घाईते चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए। अटो र अटो चालक टीकापुर नगरपालिका–९ का ४८ वर्षीय तपेन्द्र धामीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए।

यसैगरी, धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशी घर नजिकैको आँपको रुखबाट खसेर घाइते भएका थिए। घाइते भएका जोशीको उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीषक कबिन्द्रसिंह बोहोराले बताए।

उता, बैतडीको महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो। रजनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छन्।

शिवनाथ–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज (शनिवार) बिहान नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो। अस्मिताको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.