पानी परेपछि कञ्चनपुरका कृषकलाई रोपाइँ गर्न सहज

महेन्द्रनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कञ्चनपुरमा पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ । महाकाली बेसिन अत्तरियाका प्रमुख सञ्जयकुमार साहका अनुसार ६.८ मिलिमिटर पानी परेको छ ।

‘मनसुनी वर्षा सुरु भएको छ, अब पानी पर्ने र रोकिने भैरहन्छ’ उनले भने । उनका अनुसार वर्षाले न्युनतम तापक्रम घटेर २६.६ मा झरेको छ । यसले अधिकतम तापक्रम पनि घट्ने छ । न्युनतम तापक्रम विहान ८ः४५ र अधिकतम तापक्रम साँझ ५ः३० मापन गर्ने गरिन्छ ।

कञ्चनपुरमा ४२.१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेपछि अत्यधिक गर्मीले यहाँका बासिन्दा आजित भएका थिए । अर्कोतिर रोपाइँको काम पनि सुरु हुन सकेको थिएन । गत बुधबार हल्का वर्षा भएको थियो, त्यसपछि शनिबार २६.५ मिलिमिटर पानी परेको थियो ।

गत बुधबार र शनिबारको पानीले राहत भएपछि पानी पर्दा यहाँका बासिन्दाले हिँडडुल गर्न र रोपाइँ गर्न सहज भएको बताएका छन् ।

असार दोस्रो साता चलिरहँदा पनि पानी नपर्दा तनावमा रहेका यहाँका कृषक पानी परेपछि सजिलो भएको वेदकोट नगरपालिका ५ धरमपुरका का किसान हसिष सावदले बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा ४८ हजार छ सय हेक्टरमा धानखेती हुन्छ । तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीलाई सुदूरको खाद्य भण्डारको रुपमा लिइन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.