महेन्द्रनगर । निरन्तर वर्षाका कारण सीमा नदी महाकालीको सतह बढ्दै गएपछि सीमा नाकाका पुलहरू बन्द गरिएका छन् । सम्भावित जोखिमलाई मध्यनजर गरी नेपाल–भारत सीमा नदी महाकालीमा बनेका सबै झोलुङ्गे पुल र ठुला पुलहरु बन्द गरिएको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आईतबार साँझ महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिकै ठूला सवारी साधन आवागमनमा रोक लगाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारी वर्षाको सम्भावना भएकाले नदी किनार र तटीय क्षेत्रका वासिन्दालाई सतर्क हुन आग्रह गरेको छ । प्रशासनले अत्यन्त जरुरी सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रका वासिन्दालाई सतर्क भएर बस्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले कैलाली र कञ्चनपुरमा आज राति भारी वर्षा हुने जानकारी दिएको सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा रोक लगाइएको छ ।
बिरामी र अतिआवश्यक काम बाहेकलाई नेपाल–भारत दुवै क्षेत्रमा आउजाउमा रोक लगाइएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताएका छन्। जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत बन्द गरिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गरी नदी किनारमा नजान स्थानीयलाई आग्रह समेत गरिएको छ।
सदरमुकाम क्षेत्रको महाकाली कोरिडोरमा बिहानैदेखि माइकिङ गरेर सबैलाई नजान र सबैलाई सचेत रहन आग्रह गरिएको डिएसपी सिंहले बताएका हुन्। त्यस्तै निरन्तरको वर्षाका कारण महाकाली लोकमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
Comments are closed.