कैलालीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

महेन्द्रनगर । कैलालीमा छुट्टाछुट्टै घटनामा परी ३ जनाको मृत्यु भएको छ । लम्कीमा अलग–अलग स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर वि.क. बाटोमा मंगलवार अचेत अवस्थामा फेला परेका थिए।

अचेत अवस्थामा फेला पेरेका विकलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। यसैगरी मंगलवार नै लम्कीचुहा नगरपालिका–३ खैरेनिको रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए।

नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। नहरको माथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यसैगरी, कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ का नन्दराम चौधरीको मृत्यु भएको हो। बुधबार सुदूरपश्चिम प्रदेश ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा ५ ख १४१० नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

गोदावरी–६ हरैयामा दुर्घटना भएको हो। दुर्घटनामा गोदावरी–८ जमुनानगरका लेखकराज जोशी घाइते भएको इलाका प्रहरी कार्याल मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.