कैलालीमा पावर टिल दिने भन्दै ठगी गर्ने सहकारीका तीन अध्यक्ष रिहा

महेन्द्रनगर । कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने तीन सहकारीका अध्यक्षहरू रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी मङ्गलवार पक्राउ परेका थिए।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले बुधवार थुना मुक्त गरेको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीमा उनीहरूका विरुद्धमा ठगीको उजुरी नपरेपछि छोडिएको हो। जिल्ला प्रशासनमा पीडितहरूले उजुरी दिने बताएपछि प्रहरीमा उजुरी नपरेको कैलाली प्रहरीले बताएको छ।

किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको उनीहरूको विरुद्धमा ठगी मुद्दा चलाउन सकिने भएपनि उजुरी नपरेपछि समस्या भएको हो। माओवादी केन्द्रको लेटर प्याडमा भने उजुरी आएको थियो। तर, कैलाली प्रहरीले पीडितहरूबाट उजुरी आउनुपर्ने बताएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको हो।

कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाड्ने भन्दै कालीमाई, अखुवा र बाल सशक्तीकरण सहकारी संस्थाले किसानबाट रकम उठाएका थिए। कैलारीका विभिन्न वडाका किसानबाट जनही ६६ हजार २५० देखि एक लाख २५ हजारसम्म रकम असुल गरिएको थियो।

सम्बन्धित

Comments are closed.