महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०ः४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ०२ कमलशा टोल बस्ने २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाघले महिलालाई आक्रमण गरेको भनी स्थानीयले प्रहरीलाई खबर गर्नासाथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाँदा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पारेको र आक्रमण गर्ने बाघको खोजतलास भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यसअघि यही साउन १५ गते राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ खजुवा बस्ने ३० वर्षीया मानमती साउँदलाई आफ्नै गोठमा गाईलाई घाँस हाल्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको थियो । मध्यम घाइते साउँदको उपचार भइरहेको प्रहरीले जनाएको छ ।