महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोहोरिएका छन् । उनले आईतवार मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । आइतबार प्रदेश प्रमुख नजिर मियाँ समक्ष शाहले प्रदेशको पाँचौ मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलको बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको थियो । बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको बताएकी छन् । उनलाई नेकपा एमालेले पनि समर्थन रहेको थियो । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका थिए ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका थिए । शाहले दाबी पेश गरेसंगै आज नै उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।
केन्द्रमा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि अल्पमतमा परेका उनले गत चैत २२ चैतमा राजीनामा दिएका थिए । मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए।तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन्।
यो सँगै कांग्रेसका शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन्। राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद छन् ।