महेन्द्रनगर । धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ । दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ ।
सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ । नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो ।
बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहित बडीमालिका यात्रा जाने गरेको थियो । बाजाजागा सहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्च कन्या र महिलाहरुले सरकारी टोलीको बिदाइ गरेका हुन् ।
मार्तडीस्थित मालिका मन्दिरमा पुगेर तिर्थयात्रीको बिदाइ गरेको नगर प्रमुख अमर खड्काले बताउनुभयो । नगर प्रमुख सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी सहीतको टोलीले तिर्थयात्रीको बिदाइ गरेको हो । टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरि प्रस्थान गरेको हो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी तिर्थयात्रीको टोलीलाई औपचारिक रुपमा बिदाइ गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएको छ ।