महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक वर्ष गौराको सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले गौरा पर्वले नयाँ उमङ्ग र हौसला बढाउने समेत बताएका छन् ।
‘यस वर्षले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावनासहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ परापूर्वका कालदेखि मनाउँदै आइरहेको सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको संरक्षण र संवर्द्धनमा लाग्नु पर्ने प्रदेश प्रमुख मियाँ बताएका छन् ।
उनले शुभकामना सन्देशमा गौरा पर्वले एक आपसमा प्रेम ,सद्भाव र आत्मीयता बढाउनेमा समेत विश्वास व्यक्त गरेका छन् ।