भम्केनीधाममा निर्माण भईरहेको नेपाल आमाको मूर्ति आर्थिक अभावले रोकियो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७७ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य रोकिएको छ । आर्थिक अभावका कारण अहिले मुर्ती निर्माणको काम रोकिएको हो ।

२०७४ सालदेखी निर्मााणधिन उक्त मुर्ती निर्माणको जिम्मा भ्याली कन्स्ट्रक्सन प्रालिले पाएको छ । रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । भम्केनी धाममा रहेको गुरुकुलका शिक्षक कुबेरप्रशाद भट्टले अहिले आर्थिक अभावले ७७ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य रोकिएको बताउनु भयो ।

साथै उहाँले मुर्ती निर्माणमा आवस्यक पर्ने अष्टधातुहरुको अभाव रहेको भएर पछिल्लो समयमा मुर्ती निर्माणको काम रोकिएको जानकारी दिनु भयो । मूर्ति निर्माणका लागि २५ देखि ३० टनसम्म अष्टधातु आवश्यक पर्नेछ । “आर्थिकको जोहो भयो भने अष्टधातुहरु किनेर ल्याएर पनि मुर्ती निर्माणको कामलाई अगाडी बढाउन सकिन्छ” उहाँले भन्नु भयो, “तर अहिले धातु पनि छैनन फेरी आर्थिक समस्या पनि भएको छ” ।

महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गर्नु भएको गुरुकुलका शिक्षक भट्टले बताउनु भयो । भ्रमणका क्रममा उहाँले रु एक करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गर्नु भएको थियो । उहाँले आर्थिक भाव भएकाले दाताहरुले नेपालमै बन्न लागेको ठुलो मुर्ती निर्माण कार्यमा सहयोग गरिदिन आग्रह पनि गर्नु भएको छ ।

भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि रु एक करोड उपलब्ध गराउने घोषणा गरेको पनि छ । मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ ।

अष्टधातुको नेपाल आमाको ७७ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने विश्वास गरिएको छ । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ । २०७४ मा मूर्ति निर्माण सुरु भएको हो । मूर्तिको आसन कमलको फूल निर्माणको काम पुरा भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.