महेन्द्रनगर । बझाङमा ट्याक्टर सेती नदीमा खस्दा बेपत्ता भएका चालक मृत फेला परेका छन् । ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाको नदीबाट मृत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ । ट्याक्टरमा सवार सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती पनि सेती नदीमा बेपत्ता छन् । उनी भने अझै फेला परेका छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बुधबार बिहान बझाङको दुर्गाथली गाउँपालिका–२ झनाना बजार नजिक सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सेती नदीमा खसेको थियो । तीन जना भने ट्याक्टरबाट हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेका थिए । हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
विहान ९ः ३५ बजे दुर्गाथली गाउपालिका–२ झनना स्थित जयपृथ्वी राजमार्गमा मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर जोशीले बताए। भेरी नगरपालिका–२ जाजरकोटका २० वर्षीय संजय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसेको उनले बताए ।
Comments are closed.