सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन प्रयास थालिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहर नै चलेपछि उक्त समस्या समाधानका लागि पहल थालेको हो।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी भएको बताए।
‘केही प्रतियोगिता प्रदेशको प्रतिनिधित्व गरेर खेलेपछि अधिकांश क्रिकेट खेलाडी विभागीय टोलीमा जाने लहर नै छ,’ अध्यक्ष जोशीले भने, ‘उक्त समस्या समाधानका लागि र उत्कृष्ट खेलाडीलाई पनि सुदूरपश्चिम प्रदेशबाटै खेलाउन तलब दिने तयारी गरेका छौँ।
पाँच जना खेलाडीलाई नेपाल क्रिकेट संघले दिने बताएको छ। अन्य १० जनालाई प्रादेशिक क्रिकेट संघले दिन्छ। असोजकै महिनाबाट १५ हजार रुपैयाँ तलब दिने हाम्रो योजना छ।’अध्यक्ष जोशीका अनुसार क्रिकेट खेलाडीलाई तलब दिन निजी क्षेत्रबाट प्रायोजक खोज्ने काम भइरहेको छ।
‘सुदूरपश्चिममा रहेका विभिन्न व्यापारिक घरनाले सहयोगको आश्वासन दिनुभएको छ,’ अध्यक्ष जोशीले भने, ‘सोही प्रायोजनबाट खेलाडीलाई तलब दिएर क्रिकेट खेलेरै जीविका चलाउन सक्ने योजनासहित प्रादेशिक क्रिकेट संघ लागेको छ।’
धनगढी नेपालमै क्रिकेटको शहरका रूपमा परिचित छ । सुदूरपश्चिम प्रदेशका थुप्रै खेलाडीले अहिले पनि नेपालको प्रतिनिधित्व गरेर क्रिकेट खेलिरहेका छन्।
Comments are closed.