महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने ‘देहिजाँत’ शनिवार भव्यताको साथमा सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । शुक्रवार ‘रतेडी’, र शनिवार ‘देउसेडी’ मेला लागेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
स्थानी गाउँ छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’(भगवानको प्रतिक) आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा यो वर्ष हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुगेको समितीले जनाएको छ ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ।भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले बताए ।
उनले भने ‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइएको र बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भम्रणमा लगि मेला सम्पन्न भएको बताए ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।
किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ।
वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ।
Comments are closed.