महेन्द्रनगर । कैलाली, डोटी ,बझाङ र बैतडीमा भएका दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।जिल्लाको घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दिपक कडेलको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
कडेललाइ लम्कीचुहा नगरपालिका–१ पुर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए। घाइते कडेलको उपचारको क्रममा शनिबार मृत्यु भएको हो। बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसैगरी, डोटीमा जिपले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँद घाइते भएका थिए।
घाइते साउँदको शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोही स्थानका २७ वर्षीय प्रकेश विकलाई थप उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिएर फरार जिपको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
यसैगरी, बैतडीमा एकजना मृत अबस्थामा फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ सार्कीटोलका ६० बर्षीय मोहनराम भुल मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन्।
कार्तिक ३० गतेदेखि हराइरहेका भुलको शव घरबाट झण्डै दुई किलोमिटर टाढा रहेको खनेटा भीरमा शनिबार साँझ फेला परेको हो। घरबाट कसैलाई जानकारी नदिइ निस्केका भुलको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। आईतवार बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको मृत्यु भएको स्थानीयले बताएका छन्।
उनलाई मृत अवस्थामा बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकैबाट उद्दार गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष करनजंग सिंहका अनुसार उनी चिप्लिएर सेती नदीमा बगेको बुझ्नमा आएको छ। अहिले शव निकालेर पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको उनले बताए।
Comments are closed.