महेन्द्रनगर । कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणको एक महिना नाघेको छ । कार्तिक महिनाको ८ गते राति घटना घटेकोमा शनिवार १ महिना पूरा आईतवारबाट दोस्रो महिना लागेको छ । दोस्रो महिना प्रवेश गर्दा पनि सो घटनाको प्रहरी अनुसन्धान भने निष्कर्षमा पुग्न सकेको छैन ।
प्रहरीले निरन्तर अनुसन्धान थालिरहेको भएपनि कुनै निष्कर्ष नआएको हो।प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको जनाएको छ । घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ । सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको बताईएको छ ।
जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए । जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन् । त्यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानमा केही ढिलाई भएपनि सत्यतथ्य बाहिर आउने छ । गत कार्तिक महिनाको ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
सोही घटनामा अहिले प्रहरीले मसिनो रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिलेसम्म सूचना संकलन, सोधपुछ लगायतको अनुसन्धान जारी राखेको छ। प्रहरीले अहिलेसम्म २ सय बढी मानिससँग सोधपुछ गरिसकेको जनाएको छ ।
Comments are closed.