महेन्द्रनगर । भलमन्सा (प्रमुख) धनीराम चौधरीलाई गाउँको नेतृत्व गरेबापत यस वर्ष १८ हजार रुपियाँ दिएको छ । कैलारी गाउँपालिका–७, छटकपुर वसन्तावासीले एक वर्षको पारिश्रमिकस्वरूप उहाँलाई त्यति रुपियाँ दिएको हो ।
“हाम्रो गाउँमा भलमनसा, गुरुवा र चौकीदार (चिराकी) लाई पारिश्रमिक दिने व्यवस्था छ,” छटकपुर वसन्ताका पूर्वभलमनसा जियाराम चौधरीले भने, “भलमनसालाई नगद र गुरुवा, चिराकीलाई बाली (धान) दिने गर्दछौँ ।” विगत सात वर्षदेखि भलमनसालाई पारिश्रमिक दिने व्यवस्था रहेको उनको भनाइ छ ।
छटकपुर वसन्तावासीले गाउँभरिबाट मिलाएर एक वर्षको पारिश्रमिकस्वरूप यस वर्ष गुरुवालाई १२ क्विन्टल र चिराकीलाई १३ क्विन्टल धान दिएका छन् । भलमनसासहित सबैलाई पारिश्रमिक दिनका लागि प्रत्येक घरबाट एक मन धान सङ्कलन गरिएको थियो । छटकपुर वसन्ताको भलमनसा जस्तै थारू समुदायमा गाउँको नेतृत्व गर्ने कतिपय गाउँका भलमनसाले पछिल्लो समय पारिश्रमिक पाउन थालेका छन् ।
गाउँवासीको निर्णय अनुसार नै भलमनसालाई पनि पारिश्रमिक दिन थालिएको हो । पहिले पहिले भलमनसाले निःशुल्क र निःस्वार्थ रूपमा गाउँको नेतृत्व एवं सेवा गर्दै आएका थिए । गुरुवा र चौकीदारलाई भने पहिल्यैदेखि नै पारिश्रमिकस्वरूप बाली ९धान० दिने भलमनसा प्रथामा व्यवस्था रहेको छ ।
भलमनसा प्रथालाई जीवन्त राख्नका लागि पारिश्रमिक दिन थालिएको कैलारी गाउँपालिका–६, बेनौलीका भलमनसा रामऔतार चौधरीको भनाइ छ । उनले गाउँको सेवामा खटेबापत आफूले पनि पारिश्रमिक पाउने गरेको जानकारी दिए। बेनौलीमा २७१ घरधुरी रहेको छ ।
गुरुवा, केसौकालाई बाली दिनका लागि प्रतिघरबाट सात पसेरी (१७.५ केजी) का दरले धान र एक पसेरी (२.५ केजी) का दरले चामल उठाइएको थियो । सङ्कलित बालीमध्ये दुवै जनाले २३.७१ क्विन्टलका दरले धान र तीन क्विन्टलका दरले चामल पाएका छन् ।
Comments are closed.