महेन्द्रनगर । कृषि क्षेत्रमा देखिएका विकृति हटाउँदै जिल्लाको कृषि विकासमा सहकार्य गर्न भन्दै जिल्ला कृषि एलाइन्स गठन भएको छ । कृषि ज्ञान केन्द्र बझाङको पहलमा जिल्लाका सबै पालिकाहरु र कृषि क्षेत्रका सरोकारवालाहरुलाई समेटेर एलाइन्स गठन गरिएको हो ।
संघ, प्रदेश र स्थानीय सरकारले कृषिका क्षेत्रमा छुट्टाछुट्टै तरिकाले काम गर्दा ठूलो रकम खर्च भए पनि उपलब्धि नदेखिएको, कतिपय ठाउँमा एउटै योजनामा दोहोरोतेहोरो बजेट खर्च भएको र कृषि अनुदानका कार्यक्रमहरु वास्तविक कृषकले नभई कार्यकर्ताले पाउने गरेको जस्ता समस्याहरु समाधान गर्न एलाइन्स गठन गरिएको हो ।
कृषि ज्ञान केन्द्रको अध्यक्षतामा गठन भएको एलाइन्समा जिल्लाका सबै पालिकाका जनप्रतिनिधि तथा कृषि शाखाका कर्मचारी, जिल्लामा काम गर्ने विभिन्न गैरसरकारी संस्था, कृषि क्षेत्रका विज्ञ र अन्य सरोकारवालाहरु सदस्य रहने कृषि ज्ञान केन्द्र बझाङका योजना अधिकृत जनकबहादुर सिंहले बताए ।
‘हरेक चार÷चार महिनामा एलाइन्सको बैठक बसेर जिल्लाभर कृषि क्षेत्रमा भएका गतिविधिको समीक्षा गर्ने निर्णय पनि भएको छ,’ उनले भने, ‘आवश्यक समन्वय र सहकार्यको अभावमा कृषि क्षेत्रमा भैरहेको लगानीको तुलनामा उपलब्धि निकै कम देखिएकाले त्यो अवस्था हटाउन यो संयन्त्र निर्माण गरेका हौं ।
Comments are closed.