युक्रेनसंगको लडाईमा कञ्चनपुरका थप एक जनाको मृत्यु

महेन्द्रनगर । बढिमा एक वर्ष युद्ध लड्ने भन्दै कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युक्रेनसंगको लडाईमा मृत्यु भएको छ । संगै गएका अर्का युवक घाईते छन् । जनही पाँच लाख खर्चेर गतवर्ष तिहारपछि रुस पुगेका कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्ट, उनका भाई निराजन बिष्ट र लोकेन्द्र बहादुर युक्रेनसंगको लडाईमा सामेल भएका थिए ।

४५ वर्षीय बिराजनको मृत्यु भएको ८ महिनापछि लोकेन्द्रको मृत्यु भएको भएको हो । युक्रेनको तोकमोकमा बंकरभित्र ड्रोन आक्रमणमा परी दाई बिराजनको मृत्यु हुदा घाईते भएका भाई निराजन रुसमै उपचाररत छन् । बिराजनको गत बैशाख ५ गते मृत्यु भएको पुष्टि भएको थियो ।

सोमवार परराष्ट्र मन्त्रालयले रुसका तर्फ लडिरहेका लोकेन्द्र सहित थप १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । लोकेन्द्र रुसको नियन्त्रणमा रहेको युक्रेनको जैपसोरिजिया क्षेत्रमा मारिएका हुन् । कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई रुसी सेनामा भर्ती भएका छोरा लोकेन्द्रले गत असारमा ऋण तिरिसकेकोले चिन्ता नलिन आश्वस्त पार्दै फर्केर घर बनाउने बाचा गरेका थिए ।

त्यसयता सम्पर्क बिहीन भएका लोकेन्द्रको मृत्युको खवर आएपछि सुन्दरपुरस्थित घर शोकमा डुबेको छ । घरमा रुवावासी चलेको छ । मस्कोस्थित नेपाली दूतावासले पुस ८ सम्म परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ ।

मन्त्रालयले मोरङका जीवन राई, कञ्चनपुरका विराजन र लोकेन्द्रबहादुर, रोल्पाका गणेशसिंह पुन, स्याङ्जाका गणेश श्रेष्ठ, उदयपुरका ओमबहादुर मगर, जीवन लिम्बू, मोहन तामाङ र ध्रुव घर्तीमगर तथा चितवनका रञ्जित गुरुङको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

सम्बन्धित

Comments are closed.