महेन्द्रनगर । कैलालीको अत्तरियामा २०६७ मा स्थापना भएको दुग्ध विकास संस्थान (डिडिसी) का लागि जग्गा खोज्न कार्यदल गठन गरिएको छ । ठाउँ अभावका कारण अत्तरियामा रहेको डिडिसी धनगढी सार्ने तयारी गरिएपछि यसै क्षेत्रमा जग्गा खोज्न गोदावरी नगरपालिका – १ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरिएको हो ।
समितिमा नन्दलाल भट्ट, भीम बहादुर विक, सेर बहादुर विष्ट, मान बहादुर बलायर, तारा देवी महरा, बाबुराम बलमपाकी, शिवराज जोशी, डिल्ली राज जोशी, लोकराज पाण्डे (आगो), नैन सिंह कार्की, वसन्त रोकाया (ललित), शर्मानन्द भट्ट, राजु देवी विक, पार्वती धामी रहेका छन् ।प्रवक्ता भट्टले हाल डीडीसी रहेको क्षेत्रमै जग्गा उपलब्ध गराउनको लागि कार्यदलले काम गर्ने बताए ।
उनले डीडीसी सँगै जोडिएको चाहना महिला सामुदायिक वनको सेरोफेरोमा जग्गा उपलब्ध गराउन समितिले काम गर्ने बताए । उनले डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि यसअघि पनि प्रक्रिया अगाडि बढेर फाइल तयार भएकाले सोही फाइललाई फलोअप गरेर अगाडि बढ्ने बताए ।
कार्यालय धनगढीमा सार्ने तयारी गरिएपछि मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो ।नगरप्रमुख वीरेन्द्र भट्टले आफ्नो सामीत्वमा जग्गा नभएकाले सामुदायिक वन, जिल्ला वन सँग समन्वय गरेर जग्गा उपलब्ध गराउनको लागि प्रक्रिया अगाडि बढाइने बताए ।
Comments are closed.