महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा सिकलसेल एनिमिया रोगको पहिचान तथा उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र निमेष सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
आदिवासी थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेल एनिमियाको पहिचान तथा उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनसिंह विष्टले बताए। उनका अनुसार नगरपालिकाको वडा नं। ८ र ९ मा शिविर सञ्चालन गरिएको छ।
‘सिकलसेल एनिमिया रोग लागे पनि जनचेतनाको कमी तथा आर्थिक अभावका कारणले उपचार सेवा पाउन नसकेका बिरामीहरुको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार सेवा पुराउने उद्देश्यले शिबिर आयोजना गरिएको हो,’ उनले भने। आइतबार नगरपालिकाको वडा नं. ९ मा सञ्चालन गरिएको शिविरमा ६ सय १२ जनाको रगत परीक्षण गर्दा ५० जनामा सिकलसेल एनिमियाको लक्षण देखिएको उनले बताए।
‘वडा नं. ८ मा अहिलेसम्म ८ सय ५० जनाको रगत परीक्षण गर्दा ४५ जनामा सिकलसेलको लक्षण देखिएको छ,’ उनले भने, ‘यहाँ करिब १ हजार जनाको रगत परीक्षण हुन्छ, पोजेटिभहरुको संख्या बढ्न सक्छ।’ कृष्णपुर नगरपालिकाले विभिन्न समयमा गरि सबै वडामा सिकलसेलको पहिचान तथा उपचारका लागि शिविर सञ्चालन गरेको छ।
‘विगत वर्षहरुमा पनि हामीले निःशुल्क शिविर सञ्चालन गरेका थियौं,’ उनले भने, ‘वडा नं। ८ र ९ मा शिविर सञ्चालन गरेसँगै सबै वडामा भएका सिकलसेल रोगका बिरामीहरुको पहिचान भैसकेको छ।’ कृष्णपुर नगरपालिकाभर करिब २ सय जना सिकलसेलका बिरामी भएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताए।
Comments are closed.