महेन्द्रनगर ।कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीस्थित हरिहर घाटमा माघे संक्रान्ती मेला अर्थात मकर मेलाको आयोजना हुने भएको छ । धार्मिक पर्यटन विकासका लागि महाकाली नदीमा बनेको चारलेन पुलसँगै रहेको हरिहर घाटमा पौष मसान्तदेखी माघ १ गते सम्म मकर मेला आयोजना हुन लागेको हो ।
पौष मसान्तदेखी पूजनसहित मेला महास्नान प्रारम्भ हुने श्री बैजनाथ सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी भारतीले जानकारी दिनुभयो । महाकाली नदीको हरिहर घाटलाई तीर्थस्थलका रुपमा विकास गर्न विगतदेखी नै मेलाको आयोजना गर्दै आएको र यस वर्षमा पनि आफुहरुले उक्त क्षेत्रमा मेलाको आयोजना गर्न लागेको उहाँले बताउनु भयो ।
यसले यहाँको धार्मिक, सांस्कृतिक पहिचान हुनेछ र महर्षि वेद व्यासद्वारा कुवेरको वाजपेय यज्ञका लागि देवदारु वनको व्यासाश्रमबाट आएर लिपिपवर्तमा वैकुण्ठ लोकमा मन्दाकिनी गङ्गाको प्रार्थना गरेर प्रकट गरेको हुनाले महाकाली नदी प्रसिद्ध तीर्थस्थल रहेको बताउनुभयो ।
यहाँ सिद्धनाथ बैजनाथको भूमि भएकाले पनि यो ठाउँ तीर्थस्थलका लागि प्रसिद्ध रहेको र देव मानसि गङ्गाका दुई धारमध्ये एक धार महाकाली नदी र अर्को धार कर्णालीको उत्पत्ति कैलाशमान सरोवर भएकाले स्कन्दपुराणमा महाकाली नदीको पौराणिक महत्व रहेको बताउनुभयो ।
“मानखण्ड पुराणमा महाकाली नदीको पौराणिक महत्व रहेकाले यहाँ स्नान गर्नु उत्तम छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न मेला महत्वपूर्ण छ ।” अहिले महाकाली नदीमा चार लनेको पुल बनेसँगै यहाँ पर्यटकहरु आउनेक्रम बढेको छ ।
यसलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न सके यहाँको पर्यटन व्यवसाय फस्टाउने भीमदत्त नगरपालिका १२ का वडा अध्यक्ष भुपेन्द्र सिंह रावलले बताउनु भयो । आफुहरुले विगतमा पनि आर्थिक सहयोग गरेको र यो वर्षमा पनि वडाबाट विजुली बत्ती, चियापान लगायतको क्षेत्रमा पनि सहयोग गरिरहको बताउनु भयो ।
Comments are closed.