महेन्द्रनगर । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । सोमबार दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो ।
पहिलो ब्याटिङ गरेको गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि किरणले १०१ बलमा ९ चौका र ६ छक्काको मदतले अविजित १२१ रनको योगदान गरे । प्रतियोगितमा यो पहिलो शतक हो ।
यसैगरी कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ र निश्चल क्षेत्रीले १८ रन बनाए । गण्डकीका लागि कप्तान विपिन खत्री, अर्मत गुरुङ, कमल परियार र अर्जुन कुमालले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२० रन जोडेको थियो ।
जितसँगै सुदूरपश्चिमले दुई खेलबाट दुई अंक जोडेको छ । सुदूरपश्चिम पहिलो खेलमा कर्णालीसँग ७९ रनले पराजित भएको थियो ।
Comments are closed.