बन्दाबन्दिको बेला बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई समस्या

बन्दाबन्दिको बेला बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई समस्या
देवदत्त ओझा
महिला तथा वृद्ध सेवा केन्द्र भीमदत्त नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर कञ्चनपुरको प्रवेश द्वारबाट भित्रपट्टी चियाएर हेर्दा उमेर पुगेका, विभिन्न समस्यामा परी प्रताडनालाई बिर्साउदै गरेका, रोगले पीडित भई थला परेका वृद्धा आमाबुबा, दिदिबहिनीहरु देख्दा एकछिन मानव जीवनको बारेमा सोच्न बाध्य कोे नहोला र १ भित्रपट्टीबाट बृद्धबृद्धाहरु पनि प्रवेश द्वारमा नया मानिस को आयो होला ? भनेर हरेकले अनुमान गर्छन, किन आयो होला ? के भनेर जाला ? कतै हाम्रो आफन्त पो हो कि ? कतै केही दिएर पो जान्छ कि ? आदिआदि……
२०६२ सालमा असहाय, वृद्धवृद्धालाई सहारा दिने परिकल्पना गरी ४ जना ( २ महिला, २ पुरुष) बाट सुरुवात गरिएको यो वृद्धाश्रम महिला अधिकारकर्मी शारदा चन्दले सुरु गरेको बताउछिन् । आफ्नो जीवन कालमा पनि निकै दुःख, कष्ट र विभेद झेलेकी शारदा चन्द मेरो जस्तो विभेद अरुले झेल्न नपरोस् र प्रताडित वृद्धवृद्धालाई एउटै छहारीमा राखेर सेवा गर्ने उद्देश्यले वृद्धाश्रमको स्थापना गरीएको बताउछिन् । अहिले असहाय वृद्ध १० जना, वृद्धा ४० र यौनहिंसा पीडित १२ जना गरी जम्मा ६२ जना आश्रममा रहेका छन् । अहिलेको लकडाउनमा यी ६२ जनालाई के गरी खुवाउने भन्ने चिन्ताले निद्रा पर्न छोडिसकेको छ । लकडाउन नहुदा कोरोना भन्दा पुर्व जन्म दिवश मनाउने, विबाह, व्रतवन्ध एवम् अन्य समारोहको अवसरमा मानिसहरु आउने र दान गरेर जान्थे, केही सहज अवस्था भएको थियो । अहिले त दान गर्न आउने मानिस पनि कोरोनाको कारण आउन नसकेका र आएका मानिस पनि सुरक्षाकर्मीले बाटोबाटै फिर्ता गरीदिएको खबर आइ रहेका छन् ।
दिनमा २ पटक आमाबुबाले चिया पिउन खोज्छन् तर कताबाट ल्याउने, के गरी पु¥याउने गहभरी आंशु जम्मा पार्दै शारदा चन्द भन्छिन हिजो तरकारी खोज्न महेन्द्रनगर सदरमुकामबाट नदी किनारका सिसैयासम्मका तरकारी बारीसम्म गएर खोजेर ल्याए । खाने इच्छा गर्नुहुन्छ, तर पाउदैन । अब त यस्तै अवस्था रहे बुढाबुढीलाई कसरी बचाउनु भोको पेटले खाना माग्छ कसरी पाल्ने चिन्ता नै यही छ । एकपटकमा बिहान १७ किलो चामल , ५ किलो दाल, नुन, बेसार ,मसाला तरकारी र साझमा २० किलो पिठोको रोटी र तरकारी पाक्छ । दिउसोको चिया सामानको अभावमा बनाउन छोडिसक्यौ । स्थानीय सरकार भीमदत्त नगरपालिका वडा नम्बर ५ बाट प्रतिव्यक्ति १० किलोका दरले ६ क्विन्टल चामल प्राप्त भएको पनि निकै समय भइसक्यो । अनि यति बेला गहुको फसल थन्क्याउने सिजन भएकाले घरघरमा गएर मुष्ठी दान मागि रहेका छौ । जान सक्यो भने मुक्तकण्ठले मानिसहरु सहयोग गरी रहनु भएको छ । साथै केही आम्दानी होला भनेर कुखुरा पालेका थियौं । बजार बन्द हुदा ५ क्रेट अण्डा सडेर फाल्नु प¥यो । खैरभट्टीमा २ बिगाहा जमिन भाडामा लिएका छौ त्यहाबाट केही आम्दानी हुन्छ । २ बिगाहाको सालना ७० हजार भाडा तिर्नुपर्छ । एक सिजनको बाली भाडा तिर्नमै ठिक्क हुन्छ । कञ्चन विकास बैंकले खेत जोत्ने च्याङवा ट्रयाक्टर उपलब्ध गराइ दिएर ठुलो गुन लगाएको छ ।
यो वृद्धाश्रम नगर विकासबाट लिजमा ८ कट्टा जमिन लिएर सञ्चालन भइ रहेको छ । महिला तथा बालबालिका मन्त्रालयले विभिन्न बेलामा भीमदत्त नगरपालिका मार्फत ३३ लाख सहयोग आएको थियो । त्यसले वृद्धाश्रममा बर्षादमा हिलो हुने भएकोले कोठाहरुमा टायल लगाएका छौ । भवन निर्माणको सुरुवाती चरणमा २५ नम्बर बाहिनी भगतपुर र जर्नेल अजितसिहं ठकुरीको पश्चिमतिरका १० कोठा बनाउनमा अतुलनीय योगदान रहेको छ । ढुंगा, गिट्टी, बालुवा उहाहरुले सहयोग गर्नुभयो भने लेण्टर हाल्न रकम नहुदा हामी संस्थाका सञ्चालनमा बसेका ९ जना महिलाले आफुले लाउने सुनका गहना बेचेर लेण्टर हाल्यौ । संस्थाको भवन बन्नु अगाडी विभिन्न व्यक्तिका घरमा भाडामा बस्दाका पीडा सम्झिदै शारदा चन्द भन्नुहुन्छ, सम्झौता २ देखि ३ वर्षसम्म गरीयो तर अफसोच १ घरधनीहरुले यी त पापी बुढाबुढी रहेछन् फोहोेर पनि त्यती कै गर्छन हाम्रो घर त अपवित्र भयो अब दिन सकिदैन् तुरुन्त सार्नुस भनेर अत्याएर ३/४ महिना भित्रै घरबाट निकालिदिए अब कता लानु ? वृद्धवृद्धाको संख्या दिनानुदिन बढि रहेको थियो । तत्कालिन अवस्थामा भगतपुर ब्यारेकले टेण्ट दियो त्यही टेण्टभित्र बास बस्यौ । घर नबन्दा र अहिलेसम्म पनि केही सहयोगी हातहरुलाई सम्झिनु नै पर्ने हुन्छ, नगर विकास महेन्द्रनगर, डिआइजी राजेन्द्र श्रेष्ठ, रोटरी क्लव महेन्द्रनगर, सडक विभाग महेन्द्रनगर, सीवा दाहाल आन्तरीक राजश्व कार्यालय प्रमुख, निर्माण ब्यबसायी पीके श्रेष्ठ, वनवासा भाटीया लगायत थुप्रै संस्था र मानिसहरुको सहयोगले गर्दा यो संरचना तयार भयो । अहिले हामीसंग ६२ जनामध्ये ६ जना कुष्ठरोगी छन् बाकी दृष्टिबिहीन, अपांग, बहिरो र यौन पीडित छन् ।
वृद्धाश्रमको पश्चिमतिर बनेको एकतारे होटलले अग्लो पर्खाल लगाउदा बर्खाको पानीले वृद्धाश्रमलाई डुबानमा पारी रहेको छ । आश्रमको दक्षिणतिरको खोलामा तटबन्द गर्न सकिएन भने बर्षातको पानीले डुबान पार्ने निश्चित छ । विगतका वर्षहरुमा त्यही पानीको निकास नहुदा दक्षिणतिरको शौचालय भत्काइ दिएको र बाउण्ड्री वाल फुटाई घरको जगमा समेत क्षति पुगेको छ । तटबन्धको व्यवस्था गरिदिन भीनपालाई गुहारेको निकै भइसक्यो । सहयोग कतैबाट पनि पाइएको छैन् ।
विभिन्न समस्यामा परेका प्रताडित वृद्धवृद्धा एवम् महिलाहरुको ओत लाग्ने ठाँउ महिला तथा वृद्ध सेवा केन्द्र बनखेत बनेको छ । महिला तथा बालबालिका मन्त्रालयबाट पनि १२ जना वृद्धाश्रममा राखिदिन यहा पठाइएको सहयोग हामी गर्छौ भनेपनि हालसम्म बन्दोबस्ती सम्बन्धी
पटके सहयोग मात्रै पाएको अध्यक्ष शारदा चन्द बताउनु हुन्छ । अहिलेसम्म वृद्धाश्रममा आएका मध्येबाट ३२ जनाको मृत्यु भइ सकेको छ । सहयोगी हातहरुले सहयोग गरेनन् भने वृद्धाश्रमको अवस्था दिनानुदिन बिग्रिदै जाने र आश्रममा रहेका व्यक्तिहरुको मानव जीवननै संकटमा पर्ने खतरा रहेको छ । आश्रममा रहेका सबै आश्रितहरुलाई सोध्दा कुनै समस्यामा नरहेका र आफ्नो घर पनि यही र सबै कुरा यही आश्रम भएकोले हामी सबैको आमाबुबा, दाजुभाइ, दिदिबहिनी शारदा चन्द नै भएको कुरा सुनाउछन् ।

सम्बन्धित

Comments are closed.