शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा यसै साता देखि गणना सुरु गरेको हो । विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ । शुक्लाफाटाको विशाल घासे मैदानमा यसको अनुगमन भइरहेको छ ।

 

चैत ८ देखि सुरु भएको गणना अन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरूलाल डंगौराले बताउन भयो । उनका अनुसार भेन्टेज प्वाइन्ट विधि बाट खरमजुरको गणना भइरहेको छ । सबै केन्द्रमा गणना सकिए पछि मात्रै नतिजा यकिन गर्न सकिने डगौराले बताउन भयो । सन २०२१ मा गरिएको गणनामा शुक्लाफाटामा ७ खरमजुर भेटिएको डंगौराले बताउन भयो । यस पटक पनि ७८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ ।

 

खरमजुर घँसे मैदानमै बस्ने पन्छी हो । यसको रंग पनि घँस जस्तै हुन्छ । खरमजुर विश्वमै संकटापन्न अवस्थामा छ । नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइने यसको संख्या १ हजार भन्दा कम छ । खरमजुर नेपालमा शुक्लाफाटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ । करिब एक साता सम्म गणना पछि नतिजा सार्वजनिक गरिने छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.