तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता वेदकोटमा सुरु

महेन्द्रनगर । वेदकोट नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ भव्य समारोहका बीच सुरु भएको छ। उद्घाटन समारोहमा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगरप्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा स्थानीयहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भोजराज बोहराले आर्थिक तथा भौतिक चुनौतीहरूबीच पनि वेदकोट नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा निरन्तरता दिइरहेको बताउनुभयो।

उहाँले पछिल्लो समय सम्पन्न विभिन्न प्रतियोगिताहरूले खेलप्रति युवाहरूको आकर्षण बढाएको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ भव्य रूपमा मेयर कप सञ्चालन गरिने जानकारी दिनुभयो।

त्यस्तै नगर प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टले खेलकुदले युवाहरूलाई अनुशासन, सद्भाव र एकता सिकाउने बताउँदै नगरपालिका भित्रका खेल मैदानहरूलाई व्यवस्थित गर्दै खेल गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले पनि मेयर कपजस्ता प्रतियोगिताहरूले नगरपालिका स्तरमै प्रतिभा पहिचान र विकास गर्न मद्दत पुर्‍याउने बताउँदै सबै टोलीहरूलाई निष्पक्ष खेल र खेलभावनाका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभयो।

उद्घाटन सत्रमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल खेलिएको थियो। उक्त खेलमा कर्मचारी टोलीले जनप्रतिनिधि टोलीलाई ३–० को अन्तरले पराजित गरेको थियो।

कर्मचारीतर्फबाट कमल कलौनीले दुई गोल र प्रकाश कलौनीले एक गोल गर्दै टोलीलाई विजयी बनाए। कार्यक्रमको सञ्चालन वडा नम्बर ५ का वडा सदस्य पुष्कर सिंह बिष्टले गर्नुभएको थियो।

सम्बन्धित

Comments are closed.