७ वर्षको लडाई पछि नागरिकता पाईन कुस्ती खेलाडी दुवेले

महेन्द्रनगर । सात वर्षसम्म कागजी प्रक्रियामा अल्झिएकी राष्ट्रिय कुस्ती खेलाडी सिवाङ्गी दुवेले अन्ततः नेपाली अंगीकृत नागरिकता पाएकी छन्। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिहीवार सिवाङ्गीसहित उनकी बहिनी सन्ध्या र भाइ सिशाङ्कलाई नागरिकता हस्तान्तरण गरेको हो।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार जिल्लामा पहिलोपटक आमाको नामबाट अंगीकृत नागरिकता वितरण गरिएको हो।

‘उहाँहरूले नागरिकता पाउन ७ वर्षसम्म भोग्नुभएको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन,’ नागरिकता हस्तान्तरण गर्दै कोइरालाले भने, ‘आज उहाँहरू नेपाली नागरिक भएकोमा हामी पनि गर्व गर्छौँ।’

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा दुवेसहित उनका भाइबहिनीले अंगीकृत नागरिकता पाएका हुन्।

नागरिकता पाएपछि सिवाङ्गीले खुसी व्यक्त गरिन्। ‘२०७६ सालदेखि प्रयास गरिरहेकी थिएँ, बल्ल सफल भएँ,’ उनले भनिन्, ‘नागरिकता नहुँदा खेल जीवनमै अवरोध थियो, प्रतियोगिता खेल्न पनि समस्या हुन्थ्यो।

अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु।’ उनले नागरिकताकै अभावमा पढाइ समेत रोकिएको बताउँदै अब शिक्षा पनि अघि बढाउने बताइन्।

सिवाङ्गीले राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा ८ स्वर्ण पदक जितेकी छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाएकी छन्।

१३औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै उनी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसँग पराजित भएकी थिइन्।

सिवाङ्गीका बुवा राजु दुवे भारतीय नागरिक हुन् भने आमा डडेल्धुराको अमरगढी नगरपालिका–५ की राधिकादेवी रोका हुन्।

विवाहपछि राजु नेपालमै बसोबास गर्दै आएका छन्। हाल परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनीमा बस्दै आएको छ। दुवे परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ।

नागरिकता पाएपछि भावुक बनेकी सिवाङ्गीले भनिन्, ‘मेरो बुवाको पसिना र आमको आँसु बिना यो सम्भव हुने थिएन। हाम्रो भविष्य अन्धकारमा जान नदिन उहाँहरूले कहिल्यै हार मान्नु भएन।

आजको नागरिकता कागज मात्रै होइन, उहाँहरूको संघर्षको प्रमाण हो।’ तीनै सन्तानले नागरिकता पाएपछि आमा राधिकाको आँखामा खुसीको आँसु थियो।

उनले जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गर्दै भनिन्, ‘अब मेरा छोराछोरीको भविष्य सुरक्षित भयो।’

सम्बन्धित

Comments are closed.