२ सय ६२ जना नेपालीसहित १० वटा शव पनि ल्याइयो

आज खाडीका चार देश र मलेसियाबाट नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट नेपाली लिएर आएको जहाजले १० जना नेपालीको शव पनि ल्याएको छ ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ६२ जना नेपालीसहित १० वटा शव पनि नेपाल पठाइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट रामविष्णु बुढा, अनिल श्रेष्ठ, देशबहादुर तामाङ, राजु कुर्मी, रन्जित चौधरी, मोहन तामाङ, मोहम्मद इब्राहिम, जीतनारायण मुखिया, मोहम्मद जियाद हक र छबिबहादुर थापाको शव ल्याइएको हो ।

कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेका २१ जना महिला र २४१ जना पुरुष आज चार्टर्ड जहाजमार्फत स्वदेश आइपुगेका छन् । कोरोनाको कारण नेपाल फर्कनैपर्ने अवस्थामा रहेकाहरुमध्ये प्राथमिकतामा परेकालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

यस्तै आज यूएईबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत एक नेपालीको शव पनि ल्याइएको बोर्डले जनाएको छ ।

मलेसियामा समस्यामा परेका नेपाली लिएर नेपाल एअरलाइन्सकै चार्टर्ड जहाज आज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै कुवेतबाट पनि समस्यामा परेका नेपाली आज नेपाल एअरलाइन्सकै चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज साउदीको दमामबाट पनि नेपाली स्वदेश आइपुगेका छन् । आज पनि आम माफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल पठाउँदैछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.