‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

महेन्द्रनगर । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा लु चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

विभागले आज दिउँसो सार्वजनिक गरेको तथ्याङ्कअनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा ‘लु’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ । पछिल्लो सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले विशेषगरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने जानकारी दिए ।

‘आजदेखि पर्सि बुधबार सम्म विशेषगरी तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ’, उनले भने, “कोशी प्रदेशमा भने बादल देखिएकाले ‘लु’ को सम्भावना तत्काल कम छ ।

विशेषगरी लुम्बिनी प्रदेशको पश्चिम क्षेत्र, धनगढीलगायत सुदूरपश्चिमका अन्य तराई जिल्ला, नेपालगञ्ज, धनगढीलगायत स्थानमा ‘लु’ को सम्भावना बढी छ ।’

सुदूरपश्चिमको दिपायलमा आज दिउँसो तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको उल्लेख गर्दै उनले त्यहाँका लागि यो तापक्रम असामान्य भएको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ ‘हाइड्रोलोजिस्ट’ राजेन्द्र शर्माले जलवायु परिवर्तनसँगै ‘लु’ जस्ता मौसमी घटना बढ्दै जाने भएकाले समयमै तयारी र सचेतना बढाउन आग्रह गरे ।

“लु को प्रभाव न्यूनीकरणका लागि हामीले कार्यविधि बनाएर कार्यान्वयनका लागि सम्बन्धित अन्तरसरकारी निकायमा पठाएका छौँ, प्रभावकारी कार्यान्वयनका लागि आवश्यक छलफल पनि गरिरहेका छौँ”, उनले भने । “समयमै चिसो वातावरण कायम गर्ने,

सफा तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरूको विशेष हेरचाह गर्ने उपायहरू अपनाउनु पर्छ”,

उनले भने, “यसैगरी अस्पताल, विद्यालय तथा सार्वजनिक स्थानहरूमा आवश्यक पूर्वसावधानीको व्यवस्था मिलाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।”

स्वास्थ्यमा कस्तो असर पर्छ ?
जनस्वास्थ्यविद् डा समीर अधिकारीले ‘लु’ लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको अत्यधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता समस्या देखिन सक्ने बताए ।

“लु ले दीर्घकालीन असरसमेत पु¥याउन सक्छ, मस्तिष्क तथा रक्तप्रणालीमा समस्या गर्न सक्छ”, उनले भने, “बालबालिका र वृद्ध उमेरका समूहलाई सबैभन्दा बढी असर गर्न सक्छ । पर्याप्त पानी पिउने, शीतल छहारीमा बस्ने, मदिरा तथा धुम्रपान गर्नुहुँदैन ।”
यसैगरी शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी पुग्ने, छाला सुक्खा, रातो र तातो हुने लक्षण पनि देखिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बालरोग विशेषज्ञ डा। रामहरि चापागाईंले ‘लु’ चल्दा वा अत्यधिक गर्मीको समयमा बालबालिकाको स्वास्थ्यमा असर पुग्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन सुझाव दिए ।

विश्व स्वास्थ्य सङ्गठनले गरेको “नेपालमा तातो हावाको लहरको प्रवृत्ति र यसबाट उत्पन्न स्वास्थ्य जोखिमबारे जनधारणाको अध्ययन”ले जलवायु परिवर्तनका कारण गर्मीजन्य समस्या बढेको निष्कर्ष निकालेको छ ।

अध्ययनअनुसार जलवायु परिवर्तन, तीव्र सहरीकरण र वायु प्रदूषणका कारण तापक्रम बढ्ने प्रवृत्ति निरन्तर बढेको हो । यसले मानव स्वास्थ्यसँगै अन्य क्षेत्रमा पनि नकारात्मक असर पारिरहेको छ ।

देशभरका ३३ वटा मौसम स्टेसनबाट सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क विश्लेषण गर्दा गर्मी दिनको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी देशको दक्षिणी भूभागमा गर्मी रातहरू, प्रि–मनसुन तथा मनसुन अवधिमा वर्षा हुने ढाँचामा परिवर्तन आएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अध्ययनअनुसार बढ्दो तापक्रमसँग जुध्न जनचेतना अभिवृद्धि, स्वास्थ्य सुरक्षा उपायको विस्तार र स्थानीय तहमा अनुकूलन रणनीति सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

कसरी जोगिने ?

प्राधिकरणले ‘लु’ बाट जोगिन दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन, अत्यधिक पसिना आएमा ‘जीवनजल’ सेवन गर्न सुझाव दिएको छ ।

बाहिर निस्कनै परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने तथा खेतबारीमा बिहान वा बेलुका मात्र काम गर्न सल्लाह दिएको छ ।
यसका साथै मदिरा सेवन नगर्न, क्याफिनयुक्त पेय पदार्थ चिया, कफी, सोडा कम प्रयोग गर्न र चिनी बढी भएको झोल पदार्थ नपिउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित

Comments are closed.