महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा सामुदायिक वन दिवस २०८३ को अवसरमा वृक्षारोपण तथा वनको उपयोगिताबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।
वेदकोट–३ स्थित सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा डिभिजन वन कार्यालय कञ्चनपुर, सिसिएन कञ्चनपुर, वेदकोट नगरपालिका स्तरीय सामुदायिक वन तथा वन उपभोक्ता महासंघको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। धार्मिक वन निर्माण गर्ने उद्देश्यसहित विभिन्न वनस्पति तथा फलफूलका बिरुवाहरू रोपिएको आयोजकले जनाएको छ।
पूजाआजामा आवश्यक पर्ने वनस्पतिका साथै वातावरण संरक्षण र स्थानीय समुदायको उपयोगमा आउने फलफूलका बिरुवालाई प्राथमिकता दिइएको बताइएको छ।
कार्यक्रममा सामुदायिक वनको संरक्षण, दिगो उपयोग, वातावरणीय महत्व तथा स्थानीय समुदायको सहभागिताका विषयमा समेत छलफल गरिएको थियो। डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत लक्ष्मी प्रशाद जोशीले वन संरक्षणसँगै यसको उपयोगितालाई बढाउँदै लैजानुपर्नेमा जोड दिनु भएको थियो ।
धार्मिक वन निर्माणसँगै उक्त क्षेत्रमा हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण र स्थानीय समुदायलाई वनसँग जोड्ने उद्देश्य रहेको बताउनु भयो ।
साथै उहाँले “सामुदायिक वन केवल काठदाउरा उत्पादन गर्ने क्षेत्र मात्र नभई वातावरण संरक्षण, जैविक विविधताको संरक्षण र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महत्वपूर्ण क्षेत्र रहेको जानकारी गराउनु भयो ।
सामुदायिक वन दिवसको अवसरमा धार्मिक वन निर्माण गर्ने उद्देश्यले विभिन्न प्रजातिका वनस्पति तथा फलफूलका बिरुवा रोप्नु निकै सकारात्मक कार्य हो।
रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा उपभोक्ता समूह तथा स्थानीय समुदायले विशेष ध्यान दिन आवश्यक छ। वनको संरक्षण र दिगो उपयोगका लागि डिभिजन वन कार्यालयले आवश्यक प्राविधिक सहयोग र समन्वय गर्दै जानेछ।
Comments are closed.