महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पोषणसम्बन्धी कक्षा सञ्चालन भएपछि स्थानीय महिला तथा पुरुषहरू बालबालिका र आफ्नै स्वास्थ्यको हेरचाहप्रति सचेत हुन थालेका छन् ।विश्व भिजनको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहकार्यमा सञ्चालित एकीकृत विकास परियोजना ‘हातेमालो परियोजना’ अन्तर्गत नगरपालिकाका विभिन्न स्थानमा पोषण तथा स्वास्थ्यसम्बन्धी कक्षाहरू सञ्चालन भइरहेका छन् । परियोजनाले पोषण र स्वास्थ्यसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सात वटा समूह गठन गरी नियमित रूपमा कक्षा सञ्चालन गरिरहेको छ ।

गठन गरिएका सात समूहमध्ये पाँच वटा पोषण हेरचाह आमा समूह र दुई वटा पोषण हेरचाह बुवा समूह रहेका छन् । बालबालिकाको पोषण, स्वास्थ्य तथा हेरचाह गर्ने जिम्मेवारी आमाको मात्र नभई बुवाको पनि उत्तिकै भूमिका रहने भएकाले पुरुषहरूको सहभागिता सुनिश्चित गर्न बुवा समूहसमेत गठन गरिएको परियोजनाकी सामाजिक परिचालिका कलावती चौधरीले जानकारी दिनुभयो ।
प्रत्येक समूहमा एक जना सहजकर्तामार्फत पोषण, सन्तुलित खानपान, सरसफाइ, बालबालिकाको स्वास्थ्य तथा परिवारको समग्र स्वास्थ्य हेरचाहका विषयमा कक्षा सञ्चालन हुँदै आएको उहाँले बताउनु भयो। कक्षामा सहभागीहरूलाई पोषणयुक्त खानाको महत्व, बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहार, स्वास्थ्यकर व्यवहार तथा घरपरिवारमै अपनाउन सकिने स्वास्थ्य सावधानीका विषयमा जानकारी दिने गरिएको छ ।
कृष्णपुर नगरपालिका १ सुन्दरीफाँटाकी बुधनी चौधरीले गएको कक्षामा गर्व अवस्थाको बारेमा, आईरन चक्की खाने विषयमा जानकारी पाएको बताउनु भयो । साथै बच्चाहरुको हेरचाहको जिम्मेवारी आमाको मात्रे नभएर परिवारका अन्य सदस्यहरुको पनि रहने भएकाmे सबैले मिलेर हेरचाह गनुृ पर्ने बनाउनु भयो ।
कक्षामा सिकेका कुरालाई व्यवहारमा उतारे वा नउतारेको विषयमा जानकारी लिन सहजकर्ताहरूले घरदैलो कार्यक्रमसमेत गर्ने गरेका छन् । घरदैलोका क्रममा परिवारको खानपान, बालबालिकाको हेरचाह, सरसफाइ तथा पोषणसम्बन्धी व्यवहारको अवस्थाबारे अनुगमन गरी आवश्यक सुझाव र परामर्श दिने गरिएको छ ।
पोषणसम्बन्धी ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै स्वस्थ परिवार र स्वस्थ समाज निर्माण गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको यस कार्यक्रमले बालबालिकाको पोषण सुधारमा अभिभावकको साझा जिम्मेवारीलाई समेत जोड दिएको छ ।
Comments are closed.