संवाद समुहको भर्चुअल बैठक सम्पन्न

कोरोना महामारीले पारेको प्रभाव लगायतका विषयमा छलफल

संवाद समुहको भर्चुअल बैठक सम्पन्न
ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, ३० साउन
विभिन्न किसिमका विवादको समाधान तथा अन्य विभिन्न किसिमका सामाजिक कार्यहरुमा विगतदेखि नै सहजीकरण गर्नुका साथै पछाडि परेका र पारिएकाहरुको समस्या समाधानका लागि पहल गर्दै आएको संवाद समुहको शुक्रवार भर्चुअल बैठक सम्पन्न भएको छ । प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका संवाद समुहमा आवद्ध सहजकर्ताहरुविच अहिलेको अवस्था कोरोना महामारीले पारेको प्रभाव लगायतका विषयमा छलफल भएको संवाद समुह कञ्चनपुरका सहजकर्ता तथा प्रशिक्षक तुलसी जोशीले जानकारी दिनु भयो । उहाका अनुसार विपद् व्यवस्थापन ऐनको सुदृणीकरण, कोरोना महामारीका बेला भएको मुल्यवृद्धि, सीमाबाट सिधै घर आइरहेकाहरुको व्यवस्थापन लगायतका विविध विषयमा छलफल भएको छ ।
संवाद समुह सचिवालय दाङले आयोजना गरेको भर्चुअल बैठकमा तीनैप्रदेशका संवाद समुहका सहजकर्ताहरुले कोभिड १९ ले पारेको प्रभाव तथा कोरोना महामारीका बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि भइ रहेका कार्यहरुमा देखिएका समस्या लगायतका विषयमा छलफल भएको थियो । छलफलमा सहभागीहरुले क्वारेन्टाइन व्यवस्थापनदेखि लिएर अन्य कार्य गर्दा देखापर्न सक्ने विवादको सहजीकरण संवाद समुहले आगामी दिनमा कसरी गर्नुपर्छ भन्ने विषयमा धारणा राखेका थिए । साथै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारहरुले गरी रहेका काम तथा ती काममा देखिएका कमजोरी लगायतका विषयमा समेत छलफल भएको हो । लुम्बिनीदेखि कञ्चनपुर सम्मका संवाद समुहका सहजकर्ताहरु सहभागी उक्त छलफलमा सहभागीहरुले क्वारेन्टिनमा करेन्ट लागेर ज्यान गुमाएका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का २३ वर्षीया राधादेवी ओडको मृत्युका घटनाकाविषयमा समेत छलफल गरेका थिए । यसरी क्वारेन्टाइनमा ज्यान जानु दुखद भएकाले आगामी दिनमा यस्ता किसिमका घटनाहरु नहुन भन्नका लागि पालिकाहरुले थप जिम्मेवारीबोधका साथ कार्य गर्नुपर्ने बताएका थिए ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा पनि फैलिएको हुनसक्ने आशंका भइ रहेका बेला सरकारले अब वडास्तरमै गएर समुदाय स्तरबाटै कोरोना परीक्षण गर्न आवश्यक रहेको संवाद समुहका सहजकर्ताहरुले बताएका छन् । १६ जना सहभागि उक्त भर्चुअल छलफलमा सहभागीहरुले आगामी दिनमा संवाद समुहले गर्नुपर्ने सहजीकरण लगायतका कार्यहरु तथा कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीनै तहका सरकारहरुले गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल गरेका थिए । संवाद समुहले विभिन्न बाहानामा समाजमा पछाडि पारिएका तथा विभिन्न किसिमका समस्याहरुबाट ग्रसित समुदायको उत्थानका लागि पहल गर्ने गर्दछ । यसअघि संवाद समुहकै पहलमा कञ्चनपुरका आरक्षपीडितहरुले कोरोना महामारीका बेला राहत पाएका थिए । पालिकाहरुले आआफ्नो पालिकाबाट राहत दिन आनाकानी गरी रहेका बेला संवाद समुह कञ्चनपुरको पहलमा आरक्ष पीडितहरुलाई पालिकाहरुले राहत वितरण गरेका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.