तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाल अब समूह ‘बी’को विजेता श्रीलङ्कासँग भिड्ने छ ।
शुक्रबार भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३-० ले पराजित भयो । पराजयसँगै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
यसैबीच शुक्रबार भएको अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३-० ले पराजित गरेको छ । उक्त खेलमा श्रीलङ्काले माल्दिभ्सलाई हराएको हो । समूह ‘बी’मा रहेको पाकिस्तानको महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका हुन् ।