भारतसँग सीमा जोडिएका बैतडीका घाटहरू अझै खोलिएका छैनन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै तल्लोस्वराडमा महाकाली नदीका घाटहरू गत चैतदेखि नै बन्द गरिएका थिए । बैतडीको शिवनाथ गाउँपालिकाको नागार्जुन, कुस्मौद तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट अहिलेसम्म सञ्चालनमा ल्याइएको छैन ।
घाट बन्द हुँदा २ दिन लगाएर झुलाघाट नाका हुँदै भारत जानुपर्ने बाध्यता कायम छ। यसका साथै दैनिक उपभोग्य सामान समेत महंगो खरिद गर्नुपरेको स्थानीय वीरेन्द्र महताले बताउनु भयो । घाटहरू खुल्ला रहँदा भारतबाट सामान आउने गरेको भएपनि हाल भारतबाट आउन छोडेको हो । घाटहरू नखुल्दा आवत–जावतमा समेत समस्या भएको छ ।
भारत आउजाउ गर्न तल्लोस्वराडबासीले डुंगाको सहायता लिई महाकाली नदी तर्ने गरेका छन् । डुंगामार्फत भारत ओहोरदोहोर गर्नका लागि महाकाली नदीमा निश्चित स्थान तोकिएका थिए । ती स्थानहरूमा हाल डुंगा चल्न छोडेका हुन् । उपभोग्य सामानका लागि भारतकै भरमा रहेको स्थानीय बासिन्दा हाल समस्यामा परेका हुन्। हालै मात्रै तल्लोस्वराडमा सडक सञ्जाल विस्तार भएकोले नेपालबाट लगिएको महंगोमा सामान पुग्ने गरेको छ ।
स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाटहरू खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनु भयो ।
यस विषयमा बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसंग बुझ्दा उहाले बैतडीका विभिन्न स्थानहरुमा पहिले देखि नै सञ्चालनमा रहेका घाटहरुलाई सरकारले नै आधिकारी नतोकिएको बताउदै यस विषयमा सरकारले समेत कुनै निर्णय नगरेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाले घाट सञ्चालनका लागि पहल गरीदिन भन्दै बैतडीको पञ्चेश्वर गाउपालिकाको पत्र आएको बताउदै सो पत्रका गृह मन्त्रालयमा जानकारी गराइ सकिएको बताउनु भयो । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामात्रै हाल सञ्चालनमा रहेको छ ।