धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

  कैलालीको धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा सम्पन्न भएको छ । नगरसभामा तीनवटा महत्वपूर्ण विधेयक माथि छलफल गरि पारित गरिएको छ । नगर सभाले (न्यायीक समिति कार्यविधी) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उप–महानगरपालिका स्वास्थ्य सम्वन्धी ऐन २०७७, धनगढी उप–महानगरपालिकाको वातावरण तथा प्राकृतीक श्रोतको संरक्षण सम्वन्धी ऐन २०६६ को विधेयक माथी नगरसभा सदस्यहरुले छलफल तथा पारित गरेका थिए ।

 यसका साथै बिभिन्न ऐजेन्डाहरुमा पनि छलफल भएको थियो । नगरसभा बोल्दै नगरप्रमुख तथा नगरसभा अध्यक्ष नृपबहादुर वडले नगरसभाका सबै सदस्यहरु दिनरात जनताको सेवामा खटिएका कारण धनगढी उप–महानगरपालिकालाई देशकै उत्कृष्ठ नगरको रुपमा सम्मानीत भएको बताउनु भयो । आफुहरु निर्वाचित भएर आएपछि अहिले सम्म गरेका कामहरुको समिक्षा गर्दै जनता संग गरेका प्रतिवद्धताहरु बाँकी रहेको समयमा पुरा गर्नुपर्ने भएकाले बाँकी समय आफुहरुका लागि महत्वपुर्ण भएको बताउनु भयो ।

 आफुहरु निर्वाचित भएर आएपछि १९ वटा वडा कार्यालयहरु मध्य १६ वटा वडाको आफ्नै कार्यालय भवन निर्माण गरेको, ३ वटा स्वास्थ्य संस्थाबाट १० वटा वडामा नगर स्वास्थ्य केन्द्रहरु स्थापना गरेको, पूर्वाधार विकासले गति लिएको कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख वडले बताउनु भयो । नगरप्रमुख वडले यस अवधीमा मात्रै २७ वटा विद्यालय भवनहरु, शौचालयहरु निर्माण गरिएको बताउदै खानेपानी योजनाहरुको विकासको तथ्याङ्कलाई हेर्नेहो भने धनगढी देशमै दोश्रो स्थानमा रहेको बताउनु भयो ।

 त्यसैगरी नगरप्रमुख वडले बेहडाबाबा, जाखोरताल, शिवपुरीधाम लगायतका धार्मिक पर्यटकिय ठाउँको गुरु योजना अनुसार काम भैरहेको बताउनु भयो । नगरप्रमुख वडले आफुहरु निर्वाचित भएर आएपछि १४ वटा ऐन, ४ वटा नियमावली, ३२ वटा कार्यविधीहरु, ३ वटा निर्देशिका र २ वटा आचारसंहित गरेर ५५ वटा कानुन निर्माण गरेको बताउनु भयो । कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख वडले कोरोनाको समयमा जनप्रतिनिधीहरुले खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भयो ।

 कैलालीको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरसभामा टेबुल भएका विधेयक माथी विधायन समिति र सरोकारवालाहरुसंग छलफल भएको बताउनु भयो । स्पष्ट हुन नसकेका बिषयमा नगरसभा सदस्यहरुले दिएका सुझावहरुलाई समावेश गरेपछि कानुनहरु राजपत्रमा प्रकाशित हुने बताउदै उप–प्रमुख भट्टले सबै बिषयमा गहन छलफल हुन सकेमा मात्रै उत्कृष्ठ कानुन बन्न सक्ने बताउनु भयो । उप–प्रमुख भट्टले नगरसभा सदस्यहरुले दिएका सुझावहरु उप–महामहानगरपालिकाका लागि महत्वपूर्ण रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.