सुदुरपश्चिम प्रदेशमै बढि छाउपडी प्रथा मानिने जिल्लाका रुपमा रहेको अछाममा एक जना महिलाको महिनावारी भएकै अवस्थामा ज्यान गयो

सुदुरपश्चिम प्रदेशमै बढि छाउपडी प्रथा मानिने जिल्लाका रुपमा रहेको अछाममा एक जना महिलाको महिनावारी भएकै अवस्थामा ज्यान गएको छ । अछामको साफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरका २१ वर्षीय पार्वती रावतको ज्यान गएको हो ।

घर नजिकैको छाउगोठमा उहाको ज्यान गएको वडा अध्यक्ष कृष्ण बुढाले बताउनु भयो । आइतबार साझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत फेला परेकी परिवारले जनाएको छ । अछाम प्रहरीका अनुसार सो घटनाको प्रारम्भिक अनुसन्धानबाट घरभन्दा १०० मिटर नजिक रहेको सानो झ्याल नभएको घरमा आगो बालेर सुतेकी रावतको ज्यान गएको हो ।

सानो प्वाल मात्रै भएको सो घरमा सुतेकै अवस्थामा सोमवार बिहान रावत मृत फेला पर्नु भएको हो । अझैपनि छाउपडी प्रथा कायमै रहदा महिनावारी भएको बेला घरभन्दा टाढा असुरक्षित स्थानमा बस्नुपर्ने बाध्यताका कारण यस्ता घटनाहरु हुने गरेको स्थानिय बुद्धिजीवीहरुले बताएका छन् ।

उनीहरुले देवता रिसाउने, बेथिति हुने भन्दै महिलाहरुलाई महिनावारी भएको बेला घरभन्दा टाढा राखिनाले महिलामाथि हिशां हुने सम्भावना बढ्नुका साथै ज्यानै जान सक्ने भएकाले सजगता अपनाउनु पर्ने बताएका छन् । तर यता प्रहरीले भने आफुहरुले छाउपडी कुप्रथा अन्त्यका लागि विविध कार्यक्रमहरु गरी रहेको दाबी गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न अन्र्तक्रियात्मक र जनचेतनामुलक कार्यक्रमहरु भइ रहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले बताउनु भयो । उहाका अनुसार प्रहरीले अछाममा रहेका विभिन्न महिला सञ्जाल, स्थानिय तह, महिला समुह लगायत अन्य सरोकारवालाहरुसंग समन्वय गरेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी रहेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरु गरेको भनेपनि त्यसको खासै प्रभावकारीता नदेखिएको बुद्धिजीवीहरुले बताएका छन् । उनीहरुले कार्यक्रम देखाउनका लागि मात्रै नगरी आम व्यक्तिहरुको चेतनाको स्तरमा वृद्धि ल्याउने गरी गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.