गौरीफन्टा नाकामा उचित व्यवस्थापन नभएको भन्दै कञ्चनपुरका जनप्रतिनिधीद्धारा चिन्ता व्यक्त,

 सुदुरपश्चिम प्रदेशको एक महत्वपुर्ण एवम् बढी मानिसहरु आवतजावत गर्ने गौरीफन्टा नाकामा उचित व्यवस्थापन नभएको भन्दै कञ्चनपुरका जनप्रतिनिधीहरुले चिन्ता व्यक्त गरेका छन् । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोके बजारसँग सीमा जोडिएको गौरीफण्टा नाकाबाट अहिले दैनिक औसतमा एक हजार जना जति नागरिकहरू ओहोरदोहोर गर्ने गर्दछन् । उक्त नाका भएर सुदूरपश्चिम प्रदेशका सबै जिल्ला सहित देशका अन्य भूभागका नागरिकहरू भित्रिने गरेका छन् भने त्यत्तिकै सङ्ख्यामा नेपालबाट उक्त नाका भएर भारत जाने नागरिकहरू पनि छन् । यद्यपि उक्त नाका भएर आवतजावत गर्ने नागरिकहरू मध्ये २० प्रतिशत जति नागरिकहरूको मात्रै सामान्य स्वास्थ्य जाँच गरी गन्तव्य तर्फ पठाउने गरिएको छ ।

 उक्त नाकामा पुनर्वास नगरपालिकाले एउटा हेल्थ डेस्क र सानो होल्डिङ् सेन्टर राखेको छ भने दश जना जति स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोली पनि खटाइको छ । तर अहिलेको असामान्य परिस्थितिमा ती संरचना र जनशक्तिले थेग्न सक्ने अवस्था नरहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताउनु भयो । स्थानीय सरकारको हैसियतले पुनर्वास नगरपालिकाबाट सकिने जति सक्रियता बढाएको भए पनि अन्यत्रबाट खास्सै सहयोग नपाएको नगर प्रमुख थापाको गुनासो छ । गत वर्ष पनि यस्तै परिस्थिति हुँदा सबैको सहयोगले सहज भए पनि यस वर्ष एक्लो महसुस गरेको उहाँले दुखेसो पोख्नुभयो ।

 गत वर्ष गौरीफण्टा नाकालाई कञ्चनपुरकै हो भनी निरन्तर सहयोग र सहकार्य गर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा र सबै सुरक्षा निकायका प्रतिनिधिहरूलाई स्मरण गर्दै उहाँले अहिलेको कोभिड १९ सङ्कट व्यवस्थापन समिति कञ्चनपुरबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गर्नुभयो । सँगै जोडिएको कैलाली जिल्ला प्रशासन र धनगढी उपमहानगरपालिकाले समेत सहयोग गर्नुको सट्टा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको प्रति नगर प्रमुख थापाले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रदेश राजधानीकै मुख निर रहेको गौरीफण्टा नाकाको व्यवस्थापनमा सबैभन्दा बढी सहयोगको अपेक्षा सुदूरपश्चिम प्रदेश सरकारबाट गरिए पनि प्रदेश सरकार नै निष्क्रिय देखिएको उहाँको भनाइ छ ।

 पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले जोखिमपूर्ण यस अवस्थामा सीमामा खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरोकारवालाहरूलाई सकारात्मक रूपमा सहयोग गर्न, अनावश्यक भिडभाड नगर्न र एकताको भावनाका साथ यो सङ्क्रमणकालीन अवस्थालाई सामना गरी सामूहिक दायित्व बहन गर्न सबै पक्षसँग अपिल गर्नुभएको छ । गौरीफण्टा नाका पुनर्वास नगरपालिकाको भूमि भए तापनि व्यवस्थापनको पक्षमा सुदूरपश्चिम प्रदेशमा रहनु भएका सबै जनप्रतिनिधिको हैसियतले विशेष पहल गरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

 पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले कञ्चनपुरका दुई मुख्य नाका गड्डाचौकी र गौरीफण्टा मध्ये गड्डाचौकी तर्फ मात्रै बढी ध्यान केन्द्रित गरी गौरीफण्टा नाकालाई उपेक्षा गरेको पाइएकोले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सहित कोभिड १९ सङ्कट व्यवस्थापन समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले दक्षिणी क्षेत्रका बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिका सहित कञ्चनपुरका सबै स्थानीय तहहरूलाई समेत सहयोग र सहकार्यका लागि अनुरोध गर्नुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.