विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने

डोटीमा विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । डोटीको दिपायल–सिलगढी नगरपालिकाले त्यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने भएको छ । पछिल्लो समय नगरपालिका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ । विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरिएको बताइएको छ ।

विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियानको शुरुआत गरेको हो । विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए÷नभएका बारेमा नगरपालिकाका कर्मचारीले दिनहुँ अनुगमन समेत गर्न थालेका छन् ।

नगरपालिकाका उपप्रमुख शिवराज खड्काको नेतृत्वको अनुगमन समिति समेत गठन गरी नगरपालिकाले दिनहुँ अनुगमन गर्न थालेको हो । विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

नगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगर उपप्रमुख खड्काले बताउनु भयो । विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले ससाना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको दिपायल–सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताउनु भयो । सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्ष भन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय डोटीले त्यहाँका व्यापारीहरुलाई निर्देशन समेत दिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्ष भन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न आग्रह गरेको बताउनु भयो ।

उहाले १८ वर्ष भन्दा मुनिका बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ नबेच्न सार्वजनिक सूचना निकालेको बताउदै नियम मिच्नेमाथि कडा रूपमा प्रस्तुत हुने बताउनु भयो । नगर उपप्रमुख खड्काका अनुसार स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यस क्रममा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मदिराजन्य पदार्थ हटाउनका लागि तीव्ररूपमा बजार अनुगमन गरिन लागिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.