पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ

टी२० विश्वकप क्रिकेटको खेलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए ।

उनीहरूविरुद्ध “शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद” को अभियोग लगाइएको छ । आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ।

टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो। भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। क्रिकेट खेलका कारण उनीहरूबीच बेलाबेलामा तनाव अझ बढ्छ।

आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन्।

दुई देशबीच खेल सम्पन्न भएपछि भारतीय क्रिकेट टोलीमा अहिले समाविष्ट एक मात्र मुस्लिम खेलाडी मोहम्मद शामीको धेरै जनाले सामाजिक सञ्जालमा मानमर्दन गरेका थिए। मानिसहरूले शामीले जानीजानी पाकिस्तानलाई रन बनाउन दिएको आरोप लगाउँदै उनलाई “देशद्रोही” को सङ्ज्ञा दिए।

ह्वाट्सएपमा पाकिस्तानी क्रिकेट खेलाडीको प्रशंसा गर्दै लेखेको भन्दै आगरामा पक्राउ परेका तीन कश्मीरी मुस्लिम विद्यार्थीलाई उनीहरू पढ्ने कलेजले सोमवार निलम्बन गरेको छ। सत्तारूढ भारतीय जनता पार्टीका सदस्यहरूले उजुरी हालेपछि तीन जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो।

“यी मानिसले तनाव बढाउन खोजेका छन् जसबाट देशको वातावरण बिग्रिन सक्छ,” क्विन्टमा प्रकाशित समाचारमा प्रहरीलाई उद्धृत गरिएको छ।

 

पाकिस्तानी टोलीलाई समर्थन गरेकाले केही अरू मुस्लिमहरूले पनि आइतवारदेखि समस्या खेप्नुपरेको छ । पाकिस्तानाले खेल जितेपछि हर्षपूर्वक ह्वाट्सएपमा एउटा पोस्ट गरेपछि राजस्थानमा एक मुस्लिम महिलाले जागिर गुमाउनुपरेको छ।

उनी स्थानीय विद्यालयमा शिक्षिका थिइन्।

पाकिस्तानी दर्शक

तस्बिर स्रोत,EPA

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बुधवार उनी पक्राउ परेकी छन्।

पञ्जाब राज्यमा पाकिस्तानको विजयमा हर्ष मनाउने कश्मीरी विद्यार्थीहरूमाथि आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतप्रशासित कश्मीरमा पनि पाकिस्तानको समर्थनमा नारा लगाउने केही व्यक्तिलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत अभियोग लगाइएको छ।

खेल भइरहेको बेला केही विद्यार्थी र दुईवटा मेडिकल कलेजका कर्मचारीले त्यसरी नारा लगाएको बताइएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.