शुक्रबार राति चन्द्रग्रहण लाग्ने, खगोलविद्

शुक्रबार राति चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन् । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएकाे उहाँले बताउनु भयो । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने उहाँले बताउनु भयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ । समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताउनु भयो ।

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्राेनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सन् २०२० मा दुई वटा सूर्यग्रहण र चार वटा चन्द्रग्रहण लाग्ने नेपाल एस्ट्राेनोमिकल सोसाइटीले जनाएको छ । जसमध्ये नेपालबाट चार वटा मात्रै देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

पहिलो सूर्यग्रहण २०७७ साल असार ७ गते आइतबार लाग्नेछ । अफ्रिकाबाट सुरु भई एसियामा आएर सकिने वलय सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ । नेपालमा बिहान १० बजेर ५३ मिनेटमा सुरु हुने खग्रास सूर्यग्रहण दिउँसो १२ बजेर ४१ मिनेटमा मध्य हुने र दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ ।

यस्तै २०७७ मङ्सिर २९ गते सोमबार लाग्ने सूर्यग्रहण भने नेपालबाट नदेखिने उहाँले बताउनु भयो ।

यसैगरी २०७७ जेठ २३ गते शुक्रबार चन्द्रग्रहण लाग्नेछ । राति ११ बजेर ३० मिनेटमा सुरु हुने ग्रहण १ बजेर ९  मिनेटमा मध्य भइ राति २ बजेर ४९ मिनेटमा सकिनेछ । यो चन्द्रग्रहण पनि ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो ।

यस्तै २०७७ असार २१ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट नेदेखिने अध्यक्ष भट्टराईले बताउनु भयो ।

यस्तै मङ्सिर १५ गते सोमबार लाग्ने चन्द्रग्रहण भने निकै छोटो समय देखिनेछ । यो ग्रहण चन्द्रोदय हुनुअघि नै सुरु भइसक्ने र केही समयमै सकिने भएकाले कुनै डाँडामा गएर हेर्न सकिने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित

Comments are closed.