त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनकाे लक्ष्य दिएकाे छ । आज शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै राेहित पाैडेलले ५१ रन बनाए ।
दीपेन्द्रकाे याे पहिलाे टी–२० अन्तर्राष्ट्रिय शतक हाे । याेसँगै उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए ।बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए । आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्ने छ भने पराजित भएमा पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ भने समान दुई/दुई अङ्क रहेका पीएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ ।
Comments are closed.