दार्चुलामा महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी

दार्चुलामा महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ । तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका वडा नम्बर ४ स्थित मलघट्ट झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बाँकुस्थित बाकु झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो । वडा नं ६ को बडुगाउँ पुल पनि निर्माण भैसकेको छ । पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो । झोलुङ्गे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा शनिबार खलङ्गामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको समन्वय बैठकमा छलफल भएको थियो । झोलुङ्गे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ का नरेन्द्रसिंह धामीले लामो समयदेखि पुल नियमित नहुँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताउनु भयो । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुङ्गे पुल निर्माण गरेको थियो । मल्घट्टे तथा मालमा रु २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडूगाउँमा रु २ करोड ५५ लाख ६४ हजारको लागतमा उक्त पुल निर्माण भएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतका तर्फबाट कुनै समस्या नभएको धारचुलाका एसडिएम नन्दन कुमारले बताउनु भयो । पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवत जावतमा सहज हुने मालका बासिन्दा दानसिह कार्कीले बताउनु भयो । केपीशर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न दार्चुला जिल्लाबाट प्रस्तावसहित माग गरिएकामा व्याँस गाउपालिकाको वडा नम्बर ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.