कोरोना महामारीले जागिर गुमाउनेको संख्या ह्वात्तै बढेपछिको जनआक्रोशका बीच अमेरिकी पपस्टार बियोन्सेले मंगलबार राति नयाँ गीत ‘ब्रेक माइ सोल’ रिलिज गरेकी छन् ।
‘रेनसा’ एल्बममा संग्रहित उक्त गीतले महामारीले जागिर गुमाएपछि अमेरिकी नागरिकमा चुलिएको आक्रोशलाई प्रस्तुत गर्छ । राष्ट्रपति जो बाइडेन प्रशासनले नयाँ जागिर सिर्जना गर्न चुनौती खेपिरहेको छ ।
बियोन्सेको सो गीतको शब्दमा समेत श्रमिकको पीडा प्रस्तुत छ । बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म खटेर काम गर्नुपर्ने जसले गर्दा राति सुत्न नपाइने कारणले जागिर छाडेको मर्मस्पर्शी वेदना गीतमा प्रस्तुत छ ।
यो समस्या अमेरिकी श्रमिकको मात्र होइन, नेपालसहित तेस्रो मुलुकबाट अमेरिकी सपना बोकेर पुगेका श्रमिकको समेत हो । गीतले नेपाली कामदार र समुदायको दर्दलाई पनि व्यक्त गरेको छ ।
विश्लेषकले बियोन्सेको उक्त गीतलाई महामारीपछि अमेरिकामा सुरु भएको अहिलेसम्मकै ठूलो आर्थिक मन्दीको वास्तविक चित्रण भनेर व्याख्या गरिरहेका छन् । कतिपयले अहिलेसम्मकै धेरै श्रमिकले जागिर छाडेको कुरालाई उल्लेख गरेका छन् ।