नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण प्रस्थान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उत्साहका साथ भारत जान लागेको बताउनु भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताउनु भएको छ । साथै उहाले भ्रमण आकस्मिक नभएको समेत दाबी गर्नु भएको छ ।
उहाले चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको समेत बताउनु भएको छ ।
नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र उनी सचिव भएपछि आफूलाई फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुन सक्छ भनेको भन्दै प्रचण्डले त्यही अनुसार यो भ्रमण हुन लागेको बताउनु भएको हो ।
भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरु संग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै उहाले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वाद मार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताउनु भएको छ ।
कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग पनि परामर्श गरेको भन्दै प्रचण्डले यो भ्रमण महत्वपूर्ण रहेको बताउनु भएको छ ।

सम्बन्धित

Comments are closed.