ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग) मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसंगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ ।
नयँ व्यवस्था अनुसार ओलम्पिक खेलकुद अन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक संगै फिफा विश्वकप फुटबलमा पदक विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ । यी खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेल तर्फ १ करोड ३० लाख र सामूहिक खेल तर्फ जनही ५२ लाख रुपैयँ पुरस्कार पाउनेछन् ।
रजत जितेमा एकल तर्फ ९७ लाख र सामुहिक खेल तर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकल तर्फ ६५ लाख र सामूहिक तर्फ जनही २६ लाख रुपैया पुरस्कार पाउनेछन् ।
त्यस्तै स्वर्ण विजेता खेलाडी तथा टिमको प्रमुख प्रशिक्षकले १३ लाख, रजत विजेताले ७ लाख ८० हजार र कांस्य विजेताले ५ लाख ८५ हजार रुपैयँ पुरस्कार पाउनेछन् ।
स्वर्ण विजेता खेलाडी तथा टिमको सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार, रजत जितेमा ३ लाख ९० हजार र कांस्य जितेमा २ लाख ९२ हजार रुपैया पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः १९ लाख ५० हजार, १५ लाख ६० हजार र ११ लाख ७० हजार रुपैया पुरस्कार पाउनेछ ।
यसअघि २०७२ सालमा बनाइएको कार्यविधि अनुसार ओलम्पिक स्वर्ण जित्ने खेलाडीले एकल खेल तर्फ १ करोड र सामूहिक तर्फ ४० लाख, रजत विजेता खेलाडीले एकल तर्फ ७५ लाख र सामुहिक तर्फ ३५ लाख तथा रजत विजेता खेलाडीले एकल तर्फ ५० लाख र सामुहिक खेल तर्फ २० लाख रुपैयँ पुरस्कार पाउदै आएका थिए ।
नयँ कार्यविधि अनुसार एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीले एकल खेल तर्फ ३२ लाख ५० हजार र सामुहिक खेल तर्फ १३ लाख रुपैयँ पुरस्कार पाउनेछन् । रजत विजेताले एकल खेल तर्फ १९ लाख ५० हजार तथा सामुहिक खेल तर्फ ६ लाख ५० हजार र कांस्य विजेताले एकल तर्फ १३ लाख र सामूहिक खेल तर्फ ३ लाख ९० हजार रुपैयँ पुरस्कार पाउनेछन् ।
स्वर्ण विजेता खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख ५० हजार, रजत विजेताले ३ लाख ९० हजार र कांस्य विजेताले २ लाख ६० हजार रुपैयँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले स्वर्ण, रजत र कांस्य जितेमा क्रमसः ३ लाख २५ हजार, १ लाख ९५ हजार र १ लाख ३० हजार रुपैयँ पाउनेछन् । खेल संघले पनि क्रमसः १३ लाख, ६ लाख ५० हजार र ३ लाख ९० हजार पुरस्कार पाउनेछन् ।
दक्षिण एसियाली खेलकुद (साग) तर्फ स्वर्ण विजेता खेलाडीले एकल खेल तर्फ ११ लाख ७० हजार, सामूहिक खेल तर्फ ७ लाख ८० हजार रुपैयँ पाउनेछन् । अघिल्लो व्यवस्था अनुसार सागमा स्वर्ण जित्नेले एकल तर्फ ९ लाख र सामुहिक तर्फ ६ लाख पाउदै आएका थिए ।
रजत विजेता खेलाडीले एकल तर्फ ७ लाख ८० हजार र सामुहिक तर्फ ५ लाख २० हजार रुपैयँ पुरस्कार पाउनेछन् । कांस्य जित्नेले एकल तर्फ ३ लाख ९० हजार र सामुहिक तर्फ २ लाख ६० हजार रुपैयँ पुरस्कार पाउछन् ।
सागमा स्वर्ण जित्ने खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख २५ हजार, रजत जित्नेले ३ लाख ९० हजार र कांस्य जित्ने खेलाडीका प्रशिक्षकले २ लाख ६० हजार रुपैयँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले पनि स्वर्ण, रजत र कांस्य अनुसार क्रमसः ३ लाख ९० हजार, २ लाख ६० हजार र १ लाख ३० हजार रुपैयँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः ६ लाख ५० हजार, ३ लाख ९० हजार र २ लाख ६० हजार रुपैयँ पुरस्कार पाउनेछन् ।
आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले १ लाख र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख रुपैयँ प्रोत्साहन पुरस्कार पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।