कञ्चनपुरको वेदकोट नगरपालिकामा करीब ५ हजार भन्दा बढि भेडाबाख्रामा पीपीआर रोग विरुद्धको निशुल्क खोप लगाइएको छ । गत पौष २५ गते वेदकोट नगरपालिकाको वडा नम्बर १ बाट पीपीआर रोग विरुद्धको निशुल्क खोप लगाउने अभियान शुरु भएको वेदकोट नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
पशु सेवा शाखाका प्रमुख तर्कराज भट्टले अहिलेसम्म वेदकोट नगरपालिकाका वडा नम्बर १, २, ६, ८ र ९ मा पीपीआर रोग विरुद्धको खोप लगाइएको बताउनु भयो ।
यो खोप दुईदुई वर्षको अन्तरमा लगाउनुपर्ने बताउदै उहाले जन्मेको ३ महिना भन्दा कम समय भएका बाख्राहरुलाई भने यो खोप नलगाइने बताउनु भयो । पिपिआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै बथानमा रहेका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन् ।
पिपिआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकारको सङ्क्रमक रोग हो । यसको रोकथामका लागि पिपिआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ ।